काठमाडौं, 4 अक्तूबर 2021
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनासकारी भूकम्पपछिको पुननिर्माण हुन बाकी रहेका कामको प्रगति बिबरण प्रत्येक ३ महिना उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनः निमार्ण प्राधिकरणबाट बिभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुननिर्माणका बाँकी कार्यहरुलाइ अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनः निमार्णको प्रगति बिबरण प्रत्येक ३ महिना उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले प्राधिकरणको समयावधि सकिनै लागेको अवस्थामा प्राधिकरण मातहत रहि काम गरेका प्राविधिक जनशक्तिलाई पुननिर्माण वा अन्य निकायमा तत्काल व्यवस्थापन गर्ने र यससम्बन्धी ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्न अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले प्राधिकरणबाट हस्तान्तरण भएका तर पुननिर्माण पुरा नभएका संरचना निर्माणको लागि जनशक्ति र स्रोतका साथै समयमा नै सम्पन्न गर्ने सुनिश्चितताका लागि समन्वयन गर्न प्राधिकरण र बिभिन्न मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुननिर्माणका कार्यहरु हस्तान्तरण भइरहेको अवस्थामा हस्तान्तरण नभएका संरचनालाई तीव्र गतिमा पुननिर्माण गरिरहेको बताउनुभयो । उहाले रानीपोखरी, धरहरा र सिंहदरबारसंग सम्बन्धी पुननिर्माण कार्यलाई पनि अघि बढाइरहेको जानकारी दिनुभयो । त्यस्तै मंसिरमा हुने अन्तराष्ट्रिय सम्मेलनमा उच्चस्तरिय सहभागीता गराउने तयारी भइरहेको उहाले बताउनुभयो । ज्ञवालीले प्राधिकरणबाट बिभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुननिर्माणका बाँकी कार्यहरुलाइ अघि बढाउन समन्व्यकारी भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु बिभिन्न मन्त्रालयलाई हस्तान्तरण गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहने ज्ञवालीले बताउनुभयो ।









































