काठमाडौं, 8 अक्तूबर 2021
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई कटाक्ष ट्विट गर्नु भएको छ । पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत, “परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ। बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो।”
बाजुरा कांग्रेस जिल्ला सभापतिमा रामसिंह रावल विजय भएसँगै पौडेलको व्यंग्यात्मक ट्विट आएको छ। पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेको गृहजिल्ला बाजुरामा रावल विजयी भएका हुन्। रावल पौडेलनिकट हुन्। सातौँ अधिवेशनबाट रावलले जिल्लाको सभापतिमा ३९ मतान्तरले जित हासिल गरेका हुन्। देउवानिकट कविराज पण्डितलाइ उनले पराजित गरे। रावलले ६०५ मत ल्याए। पहिलो चरणमा निर्वाचनको मत परिणाम आउन नसक्दा दोस्रो चरणमा रावल विजयी भएका हुन्। ट्विटमार्फत पौडेलले डडेलधुराको विषय पनि उठाउनु भएको छ। सभापति देउवाको डडेलधुरा गृहजिल्ला हो। त्यहाँ भएको वडा तहकै अधिवेशन पुनः गर्नुपर्ने मग भइरहेको छ। ११ दिनसम्म नेता तथा कार्यकर्ताहरू अनशन बसेका थिए। जिल्ला सभापति कर्ण मल्ल नै वडा अधिवेशनको विपक्षमा छन्। डडेलधुरामा केही दिन पौडेल समूहले विरोध कार्यक्रम नै आयोजना गरेको थियो। अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गुरु घिमिरेलगायत केन्द्रीय नेताहरू त्यहाँ पुगेर कार्यक्रमलाई सम्बोधन गरेका थिए।









































