काठमाडौं, 10 अक्तूबर 2021
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिनुभएको छ । आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्रि बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिनुभएको हो । विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द पार्टीलाई स्वीकार्य नहुने भन्दै यस कुरामा बिशेष ख्याल गर्न पनि उहाले निर्देशन दिनुभयो । उहाले पारदर्शी बन्न र आचारसंहिताको पुर्ण पालना गर्न पनि निर्देशन दिनुभयो । त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले एमाले अध्यक्ष केपी ओलीसंग बिद्रोह गर्नुपरेको धारण राख्नुभयो । प्रतिनिधिसभा बिघटन गर्दै असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको उहाको आरोप छ । नेकपा (एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका थिए ।









































