काठमाडौं, 16 अक्तूबर 2021
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दसैँ शनिबार विशेष कार्यक्रम गरी मनाएका छन् । काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरुले एकापसमा दसैँ मनाएका हुन् । प्रत्येक वर्ष सो समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण यसपटक जात्राको कार्यक्रम स्थगन गरेका थिए । कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नाश गरेर दसँैको टीका लगाउने परम्परा छ । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको संस्कृतिविदको भनाई छ । सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।









































