काठमाडौं, 19 अक्तूबर 2021
अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पोवेलको निधन भएको छ। ८४ वर्षीय क्यान्सरसँग जुध्दै गरेका पोवेलको कोरोना भाइरस संक्रमणका कारण गएराति मृत्यु भएको हो । पोवेलद्वारा धेरैवटा इतिहास बनेका छन् । पोवेल अमेरिकाको पहिलो काला जातिका विदेशमन्त्री हुन् । उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको सुरक्षा सल्लाहकार हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् । सैनिक सेवाबाट विदेशमन्त्री हुने पहिलो अमेरिकी हुन् । पोवेलको पत्नी र तीन सन्तान छन् । कुनैबेला पोवेल अमेरिकाको पहिलो काला जातिका राष्ट्रपति बन्ने सम्भावित व्यक्तिका रुपमा लिइएको थियो । पोवेल निकै लोकप्रीय पनि थिए । तर, इराक युद्धले उनको लोकप्रीयता घट्यो । नेपाल भ्रमण गर्ने पहिलो र हालसम्म एकमात्र अमेरिकी विदेशमन्त्री पोवेल हुन् । उनले १८ जनवरी सन् २००२ मा नेपाल भ्रमण गरेका थिए । नेपालमा त्यतिबेला माओवादी द्वन्द्व चुलीमा पुगेको थियो । भारत र पाकिस्तानको भ्रमण पछि उनी नेपाल आएर अमेरिकाको आतंकवादविरुद्धको नीतिबारे प्रष्ट पारेका थिए ।









































