22 अक्तूबर 2021
वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्। दुबईमा अलपत्र परेका युवालाई बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा सकुसल घर फकाईएको हो। त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई नगरप्रमुख साहले आफ्नै पहलमा घर फर्काएका हुन्। एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरूले आफ्नो समस्याबारे जानकारी गराएपछि उनीहरू साहकै प्रयासमा नेपाल फर्केका हुन्। दसैँ बिदामा दुबई घुम्न गएका बेला साहले त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरूलाई उद्धार गरी घर फर्काएका हुन्। अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरूलाई पनि घर फर्काउन पहल गर्ने जनाए।









































