22 अक्तूबर 2021
यतिबेला अनुपम खेर बलिउड फिल्म ‘उँचाइ’को छायांकनका लागि नेपालमा छन् । अक्टोबर ४ देखि नेपालमा सुटिङ गरिरहेको बलिउड फिल्मको टोलीमा वोमन इरानी, परिनिती चोपडा आदि कलाकार पनि छन् । तर, अनुपम खेर सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय छन् । आएको भोलिपल्ट नै पशुपतिमा देखिएका उनले त्यसयता नेपालमा रहँदाका हरेक गतिविधिलाई सञ्जालमार्फत सेयर गरेका हुन् । सगरमाथाको फेद नाम्चेबाट हेलिकप्टरमा फर्किएका उनले उक्त क्रममा खिचेको साँगाको शिवजीको मूर्तिको भिडियो यतिबेला सञ्जालमा लोकप्रिय छ । काठमाडौँ आएपछि खेरले बिहीबार ट्ववीटरमा एउटा पोस्ट सेयर गरेका छन् जहाँ उनले आफ्नो अभिनय यात्राको सुरुवाती दिनका एक जना को–स्टार भेटेको उल्लेख गरेका छन् । ‘जीवन सन्ध्या’ नामको फिल्म गर्दा खेरसँगै काम गर्ने कलाकार हुन् अष्ट्रेलियन भेलिसिटी भक । भेलिसिटी १९ वर्षको हुँदा उनले सो फिल्ममा काम गरेकी थिइन् । भेलिसिटी यतिबेला नेपालका लागि अष्ट्रेलियन राजदूत छिन् । खेरले सामाजिक संजाल मार्फत उल्लेख गर्दै उनी दुई पुस्तकको लेखक भएकोसमेत बताएका छन् । जवाफमा भेलिसिटीले पनि यसलाई प्रकृतिको नियम मान्दै वर्षौपछि फेरि भेटिएको भन्दै अनुपम खेरलाई प्रतिभाशाली र मायालु मानिसको रुपमा सम्झना गरेकी छिन् ।









































