अस्ट्रेलिया, 23 अक्तूबर 2021
पैसाको कारण विवाद बढ्दै गएपछि अस्ट्रेलियामा एक नेपाली महिलाले आफ्नै श्रीमानमाथि कैंची प्रहार गरी श्रीमानको ज्यान गएको छ। नेपाली युवा सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका थिए। सन्तोषको घरायसी झगडामा आफ्नै श्रीमतीद्वारा कैची प्रहार गरी ज्यान गएको हो। उनीहरूका एक छोरी पनि छिन् र उनलाई एक नेपाली परिवारले पश्चिम सिड्नीमा राखेर हेरचाह गर्दै आएको छ। अदालतले यो घटनालाई भवितब्यका रूपमा मान्दै उनलाई तीन वर्षको मात्र सजाय सुनाएको छ। तीन वर्ष अर्थात रात र दिन दुबै गनिँदा डेढ वर्ष अर्थात उनी आगामी नोभेम्बरमा सजायमुक्त हुने भएकी छिन्।स्थानीय ग्रानभिलमा भएको घटनामा सन् २०१९ नाभेम्बर २३ मा उनका पति सन्तोषको ज्यान गएको थियो। सन्तोषले सुरूमा श्रीमतिलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफूले प्रतिवाद गर्दा घटना भएको उनले जनाएकी थिइन्। पैसाको विषयलाई लिएर आफूहरूबीच विवाद भएको उनले अदालतसमक्ष बयान दिएकी थिइन्। श्रीमान मदिराको लत भएको र यौन दुव्र्यवहारसमेत गर्ने गरेको उनले बताएकी थिइन्। निज रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेकाले आफू आजीत बनेको बताएकी थिइन्। यस्तो यौनसम्पर्क गर्भनिरोधक साधनबीना हुने गरेको र यसैकारण कयौं पटक गर्भपतनसमेत गराउनुपरेको उनले न्यायाधीशसामू बताएकी थिइन्। घटनाको दिनमा सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाएपछि विवाद सुरू भएको उनले बयानको क्रममा बताएकी छिन्। सुरुमा सन्तोषले यसक्रममा जगल्ट्याएर कैंचीले तिघ्रामा हानेको र यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको उनको बयान थियो। यसपछि अत्यधिक रक्तश्रावको कारण सन्तोषको मृत्यु भएको थियो। मुद्दाको फैसला गर्ने न्यायाधीशलेसमेत यौन दुर्व्यवहारको विषयलाई प्रमुख जोड दिँदै घटना भवितब्यमा हुन गएकाले कम सजायको भागिदार भएको निचोड निकालेका थिए। महिलाले अदालतमा सुनवाईको क्रममा नेपाल गएर आफू नयाँ जीवन सुरु गर्न नसक्ने बताए पनि अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने जेल सजायपछि आप्रवासीलाई देश निकाला गरिने नियम छ। उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन्। तर अदालतले उक्त अनुरोधलाई भने स्वीकार नगर्न सकिने बताएको छ।









































