23 अक्तूबर 2021
मौसमको खराबी र हिमपातका कारण हिमाली क्षेत्रमा बेपत्ता भएका १७ जना पदयात्रीमध्ये ११ जना पदयात्रीको शव भेटिएको छ । १७ हजार फिट उचाइमा रहेको भारतको उत्तराखण्ड राज्यको लमखागा पासमा भारतीय वायुसेनाले यी शव फेला पारे । यहाँ पर्यटक, भरिया र गाइड समेत १७ जना ट्रेकरहरु १८ अक्टोबरका दिन बाटो बिराएर हराएका थिए । यीमध्ये ११ जनाको शव लमखागा पास जाने बाटोमा भेटिएको हो । १४ अक्टोबरमा यी पर्वतारोहीहरुले उत्तराखण्डको हर्षिलबाट ट्रेकिङ सुरु गरेका थिए । उनीहरु हिमाचल प्रदेशको छितकुल जाँदै थिए । तर, १७ देखि १९ अक्टोबरसम्म मौसम खराब भएपछि उनीहरु लमखागा पास नजिकै बाटो बिराएर हराएका थिए । लमखागा पास उत्तराखण्डको हर्षिल जिल्ला र हिमाचल प्रदेशको किन्नौर जिल्लालाई जोड्ने अत्यन्तै दुर्गम पास हो । यो दल मोरी सांकरीको एक ट्रेकिङ एजेन्सीको माध्यमबाट हर्षिलबाट छितकुलको लागि हिँडेको थियो । उत्तराखण्डमा यो दलले उत्तरकाशी जिल्लाको वन विभागबाट १३ देखि २१ अक्टोबरसम्म लमखागा पासमा ट्रेकिङको लागि इनरलाइन अनुमति लिएको थियो । ट्रेकिङ दलसँग सम्पर्क विच्छेद भएको र टोली छितकुल नपुगेपछि ट्रेकिङ एजेन्सीले उद्धारको प्रयास सुरु गरेर उत्तराखण्ड र हिमाचल सरकारसँग सम्पर्क गरेको थियो । किन्नौर जिल्ला प्रशासनले दल बेपत्ता भएको सूचना बुधबार नै पाएको थियो । त्यसपछि जिल्ला प्रशासनले क्युआरटी टिम, पुलिस र वन विभागको टोलीलाई उद्धारको लागि छितकुल कंडेतर्फ पठाएको थियो । किन्नौरका डिसी आबिद हुसेन सादिकका अनुसार बेपत्ता भएका दलका केही सदस्य भेटिएका छन् । अन्यको खोजी भइरहेको छ । जीवितै उद्धार गरिएका २ जनामध्ये एकको अवस्था गम्भीर छ ।









































