ललितपुर, 26 अक्तूबर 2021
वीर गणेशमानसिंह स्पोर्टस् समितिको आयोजनामा मंगलबारबाट काठमाडौंमा ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा कार्तिक १६ गतेसम्म चल्ने टुर्नामेन्टको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा कांग्रेस नेता सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले छ दशकसम्म निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको बताउनुभयो । पदका लागि लुछाचुँडी भइरहेको वर्तमान अवस्थामा गणेशमानजस्तो त्यागी पुरुषबाट पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी दिनुभयो ।









































