27 अक्तूबर 2021
गृहमन्त्री बालकृष्ण खाँणसँग सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ। संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालसहितको अभियान टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न माग गरिएको छ। नेपाल–भारत सीमा छुट्टयाउनुपर्ने, सुस्ताबासीले जोतभोग गरी आएको जग्गाको लालपुर्जा वितरण गरी राजस्व सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय बासिन्दालाई नागरिकता उपलब्ध गराउनुपर्नेलगायत उनीहरुले माग छ। सीमाङ्कन गर्ने, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाँणको भनाइ थियो। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले मागबारे आफू सकारात्मक रहेको उल्लेख गरे। अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन उनले आग्रह गरे।









































