28 अक्तूबर 2021
लाखौं रकम बराबरको नक्कली नोटसहित महोत्तरीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका– ९ डुबरबन्नाका तरकारी व्यापारी सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षकले जनाएका छन। बिहीबार बिहान महतोलाई गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ भारतीय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ। तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिरिएको इलाका प्रहरी कार्यालय गौशालाले बताएको छ। प्रहरीले महतोको गौशालास्थित डेरामा खानतलाशी गर्दा रकम फेला परेको प्रहरी निरीक्षकले जनाए।









































