काठमाडौं, 30 अक्तूबर 2021
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको शार्दुल अङ्क–४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रममा ओलीले जनताको आवश्यकता र जनताले देखाएको बाटोमा हिड्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । उहाले अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको साहित्यीक सिर्जना हुनुपर्नेमा पनि जोड दिनुभयो । पूर्वजले छन्द, कलाकारिताका रङ, सङ्गीतको सुर, ताल पत्ता लगाएकाले आजको समयमा साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्न सकेको उहाको भनाई छ । उहाँले राजनीतिक कुराले भन्दा सङ्गीतले समाज र मानिसलाई बदल्न सजिलो हुने बताउनुभयो । एमाले अध्यक्ष ओलीले देशभक्ति गीत एमालेको मात्र नभएर सबै नेपालीको रहेको बताउनुभयो । उहाँले विकासका गीत गाउँदा समाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एल्वममा रहेका गीतमा स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो ।









































