1 नवम्बर 2021
कोभिड–१९ संक्रमणका कारण झन्डै डेढ बर्षदेखि रोकिएका संयुक्त सैनिक तालिमले धमाधम निरन्तरता पाउन थालेको छ । भारतीय सेना र नेपाली सेनाको कोरोना भाइरस संक्रमण कम भएसँगै संयुक्त तालिम सुरु भएको एक महिनापछि अमेरिकी सेनासँग पनि संयुक्त तालिम पाउन थालेको हो । सोमबारदेखि नेपाली सेनाले अमेरिकी सेनासँग पनि संयुक्त अभ्यासको सुरुवात भएको छ । नेपाली सेनाले अमेरिकी सेनासँग ‘संयुक्त तालिम अभ्यास एक्स नेक नेल–22’ को थालनी गरेको हो । यसअघि भारतको पिथौरागढमा असोज 4 देखि 17 गतेसम्म भारतको उत्तराखण्डस्थित पिथौरागढमा नेपाल–भारत 15 औं ‘सूर्यकिरण’ नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न भएको थियो । उक्त संयुक्त तालिम काठमाडौं, पोखरा र अन्नपूर्ण बेसक्याम्प इलाकामा सञ्चालन हुनेछ । सेनाकाअनुसार सो तालिमले दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुनुको साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ । भारतीय सेना र नेपाली सेना बीचमा प्रतिविद्रोह र जंगलकलामा अभ्यास हुन्छ । जंगलकला सम्बन्धी विविध कलाको अभ्यास गरिन्छ । अमेरिकासँग विपद् व्यवस्थापन सम्बन्धी तालिम हुने छ । चीनसँग प्रतिआतंकवाद तथा विपद् व्यवस्थापन तालिम हुन्छ । अन्य मुलुकले नेपालमा पनि आएर अभ्यास गर्ने भएपनि बेलायतले भने नेपाली सैनिकलाई उतै बोलाएर संयुक्त अभ्यास गर्दै आइरहेको छ । सुरुवातमा नेपाललाई बेलायतले कोरोना भाइरसको संक्रमणका कारण ‘रेड लिस्ट’ मा राखेको थियो । अहिले नेपाललाई रेड लिस्टबाट हटाए पनि सो संयुक्त अभ्यास अगस्ट महिनामै सकियो । सो अभ्यास सकिएपछि अब अर्को वर्षमात्र बेलायतसँग संयुक्त अभ्यास हुने प्रवक्ता पौडेलले बताए । नेपालले सन् 2011 देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको हो । जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणका कारण संयुक्त तालिम रोकिएको थियो । नेपालले चीनको जनमुक्ति सेनासँग सन् 2017 देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको हो । जसको दोस्रो संस्करण सन् 2018 मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको हो । ‘संयुक्त तालिमलाई लिएर चीनसँग कुराकानी भइरहेको छ, ’ प्रवक्ता पौडेलले भने ।









































