2 नवम्बर 2021
जलवायु परिवर्तनले ल्याएको गम्भीर चुनौतीसँग जुध्न विश्वका नेताहरूले सहकार्य र एकताको आवश्यकता औंल्याएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप–२६) को दोस्रो दिन र सोमबार सुरु भएको दुई दिवसीय वल्र्ड लिडर समिटको पहिलो दिन आफ्ना भनाइ राख्दै उनीहरूले जलवायु परिवर्तनलाई सम्बोधन गर्न तत्काल काम हुन नसके आगामी पिँढीका लागि ढिलो हुने धारणा राखे। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सम्बोधन गर्नु भएको छ। प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने क्रममा आगामी दिनमा पर्वतीय क्षेत्रसँग जोडिएका मुद्दालाई बढी प्राथमिकता दिनुपर्ने बताउनु भयो। पर्वतीय शृंखलामा बढ्दो तापमानले समस्या आएको र त्यसले असर पुर्याएको पनि देउवाको भनाइ थियो। यसका साथै जलवायु परिवर्तन र यसले पुर्याएका असरहरूको सम्बोधनका लागि नेपाल पूर्ण प्रतिबद्ध भएको देउवाले बताउनु भयो। प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा पर्वतीय राष्ट्रहरूको समस्याको पहिचान र सम्बोधन, जलवायु वित्तको प्रभावकारी कार्यान्वयन, पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न आवश्यक पर्ने प्रयास तथा जलवायु परिवर्तनका कारण हुने हानि नोक्सानीलाई सम्बोधन गर्नेलगायतका विषय उठाउनु भएको थियो। आइतबार सुरु भएको कोप–२६ सम्मेलन दुई साता चल्नेछ।









































