काठमाडौं, 13 नवम्बर 2021
नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेतिर एमालेको सोच नभएको बताउनुभएको हो । रायमाझीले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गर्नुभयो । उहाले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको आरोप लगाउनुभयो । पार्टी फुटाउनको लागि अध्यादेश ल्याइएको भन्दै उहाले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धनको सरकारले गरेको धारणा राख्नुभयो । त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने बताउनुभयो । साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको बताउनुभयो । अदालतभित्रको चलिरहेको आन्दोलनबारेपनि जानेर नै मौन रहेको उहाको भनाई छ । त्यस्तै, उहाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गर्नुभयो ।









































