15 नवम्बर 2021
भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतलाई नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भएको छ। आर्थिकरूपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुगेका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउँछन्। उनका अनुसार, ‘गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन’, ‘युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन।’ उनले मुलुकमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको जनाए। नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन्। ‘युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्’, उनले भने,’नेताहरूले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्नसके मात्रै सम्भव होला।’
सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो। दैनिक सयौं नागरिक रोजगारीका लागि सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत जानेक्रम दैनिकजसो चलिरहेको छ। त्यसैगरी नैनीतालमा होटलमा गार्डका रूपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको जनाएका छन्। ‘नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु’, ६१ वर्षीय बुढाले भने, ‘गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ।’
उनले पनि मुलुकभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताए।
‘नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन ?’, उनले भने, ‘युवाशक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन।’ शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाइ, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताए। ‘अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन’, उनले भने, ‘नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन्।’ त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको जनाए। ‘नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो’, शाहीले भने, ‘हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो।’