काठमाडौं, 15 नवम्बर 2021
नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती सेवा ऐनमा समावेश गर्न सरकारलाई सुझाव पेश गरेको जानकारी दिदै हकहित विपरित भए आन्दोलनको चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघीय निजामती सेवा ऐन ल्याउँदा आफूहरुको सुझावलाई बेवास्ता गरेमा आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल निजामती कर्मचारी युनियन अध्यक्ष गोपाल पोखरेलले कर्मचारीहरुको माग र सुझावहरु ऐन र अध्यादेशमा आएनन् भने कडा आन्दोलन गर्न वाध्य हुने बताउनुभयो । उहाले सरकारलाई बुझाएको सुझाबलगायतका विषयहरुको बारेमा जानकारी दिदै तत्काल मागको सम्बोधन गर्न आग्रह गर्नुभयो । संघीय निजामती सेवा ऐन अब निर्माण गर्दा सकरात्मक सोचको साथ कर्मचारीहरुसँग सम्बन्धित विषयमा राय सल्लाह लिएर कर्मचारीहरुको हितलाई ध्यान दिएर ल्याउन सरकारलाई आग्रह गरेको उहाले बताउनुभयो । नेपाल निजामती कर्मचारी युनीयनका उपाध्यक्ष तथा आधिकारीक ट्रेड युनियनका महासचिव तेजकुमार केसीले संघिय निजामती सेवा ऐन छिटो ल्याउन दुई मन्त्रालयसँग माग गरेको बताउनुभयो ।









































