16 नवम्बर 2021
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले क्रिकेट खेल्न थालेको लामो सयमपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्दैछ । टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपाली महिला टोली आजको खेलमा सहज जित निकाल्दै आफू बलियो टोलीको रूपमा सावित गर्ने योजनामा छ । सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछ । नेपाली महिला क्रिकेट टोलीले पछिल्लोपटक १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिता खेलेको थियो । जुन ७ डिसेम्बरमा पोखरामा भएको थियो । त्यसयता महिला टोलीका खेलाडीहरूले घरेलु क्रिकेट प्रतियोगिता खेलेपनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरू लामो समयपछि मैदान उत्रँदैछन् । कतारको दोहास्थित बेस्ट इन्ड पार्क स्टेडियममा नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टी–ट्वान्टी ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । मंसिर ७ गते दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दा मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।









































