17 नवम्बर 2021
प्रहरीले झापा जिल्लामा ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । गौरादह नगरपालिका–५ मियाँ कात्तिक ११ गते बिहान ११ बजेदेखि हराएका थिए । उनकी पत्नी नुरजन खातुनले कात्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा पति खोजीपाउँ भनेर निवेदन दिएकी थिइन् । मियाको हत्या अभियोगमा पक्राउ पर्नेमा गौरादह नगरपालिका–५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम र उनकी पत्नी सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान र उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन, ३८ वर्षीय कुर्समान खातुन रहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको टोलीले मिति कात्तिक २६ गते दिउँसो साढे २ बजे मियाँको घर खानतलासी गरेको थियो भने खानतलासी लिने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरूमा रगत जस्तो रातो पदार्थको छिटाहरू देखिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो कोठादेखि दक्षिणतर्फ बाहिर ट्वाइलेटको सेफ्टी ट्यांङ्कीमा गोबरले लिपपोत गरी गोबरको गुईठा बनाई सेफ्टी ट्यांङ्कीमाथि चाङ लगाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घातक हतियार प्रयोग गरी मियाँलाई मारेर कम्बलमा पोको पारी सोही सेफ्टी ट्यांङ्कीभित्र फालिएको शव दुर्गन्धित अवस्थामा मृत फेला परेको प्रहरीले जनाए । घटनास्थलमा अनुसन्धान कार्य सम्पन्न गरी मृत पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । घटनामा प्रयोग भएका घरेलु घातक धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाणयोग्य चिजबस्तुहरू बरामद गरिएको छ । पोष्टमार्टमको कार्य सम्पन्न गरी मियाँको शव सदगतका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।









































