ललितपुर, 17 नवम्बर 2021
ललितपुरको मंगबजारस्थीत ‘कात्तिक डबली’ मा भइरहेको कात्तिक नाचअन्तर्गत साताँ दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार गएराती सो नृत्य प्रदर्शन गरिएको हो । सो नाटकमा कृष्ण र इन्द्रको प्रवेश हुन्छ । इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिएको हो । नाचमा इन्द्रले गरेका यज्ञमा बाधा पुर्याएपछि उनले विष्णुको आह्वान गर्छन् । विष्णुको स्वरुप बराह प्रकट भएर युद्ध चल्छ । आफूहरूले हार्दै जाँदा हिरण्यासहित उनका दैत्यगण भाग्छन् । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटी शान्त्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ ।









































