काठमाडौं, नवम्बर 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता पुगेको ठाँउमा झन बलियो भएर एमाले पुगेको बताउनुभएको हो । नेकपा एमाले तर्साएर चन्दा उठाउने पार्टी नभएको भन्दै ओलीले एमाले मन लिएर, कामको विश्वास जितेर जनतामाझ जाने पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो सरकारले लोडसेडिङ अन्त्य लगाएतका विकासका काम गरेको दावी गर्नुभयो । ओलीले अहिले सरकारमा रहेका मान्छेहरु जनादेशबाट नभएर परमादेशबाट आएका व्यक्तिहरु रहेको भन्दै उनीहरुको ध्यान देश विकासमा नरहेको जिकिर गर्नुभयो । कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।









































