काठमाडौं, 17 नवम्बर 2021
डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । एकलौटी रुपमा आफुहरुलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन मान्य नहुने भन्दै पार्टीका विभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै अनसन बस्न बाध्य भएको मल्लले बताउनुभयो । आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने उहाँले बताउनुभयो । जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाटै नाम थप गरेको उनीहरुको आरोप छ ।









































