काठमाडौं, 18 नवम्बर 2021
बिहीबार काठमाडौंमा आकस्मीक बैठकपछि पत्रकार सम्मेलन गर्दै बारले आफुहरुको आन्दोलनमाथि हतियारधारी प्रहरी लगाएत आक्रमण गरेको भन्दै आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघसंस्थालाई बारले अनुरोध समेत गरेको छ । त्यस्तै बारले प्रधानन्यायधिशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दंगा प्रहरीसाथ एसएलआर जस्तो युद्धका बेला प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्य कदापी स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले शुक्रबार तीन बजेसम्म पनि प्रधानन्यायधिशको राजीनामा नआए थप शसक्त कदम चाल्ने चेतावनी दिनुभयो । उहाँले प्रधानन्यायधिश भ्रष्टाचारको नाईके भएको दोहराउदै प्रधानन्यायधिशको राजीनामाका साथै सर्वोच्चको प्रतिवेदन लागू हुनुपर्ने आफुहरुको माग रहेको जनाउनुभयो। अध्यक्ष श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएपनि राजीनामा नै दिनुपर्ने उल्लेख गर्नुभयो । प्रधानन्यायधिशले तोकेको इजलासमा जानु भनेको अरु न्यायधिश पनि दुषित हुनु भएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले घटनाले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको जिकिर गर्नुभयो । बारमा भएको घटनाको छानबिन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई आह्वान गरेको उहाले बताउनुभयो । त्यस्तै भट्टराईले अधिवक्तामाथि आक्रमण गर्ने उद्देश्यसहित बार परिसरभित्र केही व्यक्ति प्रवेश गरेको घटनाबारे पनि छानबिन हुनुपर्ने माग गर्नुभयो ।









































