काठमाडौं, 19 नवम्बर
नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताउनुभयो ।









































