काठमाडौं, 19 नवम्बर 2021
तेस्रो डिशहोम १२ खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले ‘अन्तिम अतिथि’ शीर्षकको कथाका लागि प्राप्त गर्नुभएको छ । यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गर्नुभएको छ भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गर्नुभएको छ । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७८’ को पनि लोकापर्ण गरिएको छ । कार्यक्रममा रक्षामन्त्री रिजालले समकालीन साहित्यले समाजको अध्ययन गर्न सहयोग गर्ने बताउनुभयो । उहाले अझै पनि मुनामदनले ठूलो परिमाणमा रोयल्टी प्राप्त गरिरहेको भन्दै समाज र संस्कृति झल्किने विषय साहित्यमा सशक्त रूपमा आउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले नेपाली साहित्यको उत्थानका लागि बाह्रखरी कथा प्रतियोगितासँग सहकार्य गरेको बताउनुभयो । नेपाली साहित्यलाई माथि उठाउन डिशहोमले सहयोग गर्ने उहाले बताउनुभयो । कथा प्रतियोगिताका लागि देश–विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरूकोे सँगालो ‘१२खरी उत्कृष्ट कथा–२०७८’ को सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गर्नुभएको हो । डिशहोम १२खरी कथा प्रतियोगिता–२०७८ को मुख्य प्रायोजकमा डिशहोम र प्रायोजकहरूमा नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम रहेका थिए ।









































