25 नवम्बर 2021
संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ। सो प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईका अनुसार नेपालको स्तरोन्नति सम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधबार अनुमोदन गरेको हो । सो अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । राईले नेपाल स्तरोन्नतिका लागि गरेको कडा मेहनतलाई कार्यान्वयन तहमा पुर्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । राईले सन् २०२६ पछि थपिन सक्ने चुनौतीलाई सम्बोधन गर्नसमेत आग्रह गरेको भन्दै यसमा विकास साझेदार संस्थाहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्ने बताउनुभएको छ।









































