काठमाडौं, 25 नवम्बर 2021
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुले राजधानीमा मार्च पास गरेका छन् । बिहिबार सर्बोच्च अदालत परिसरदेखि बालुवाटारसम्म उनीहरुले मार्च पास गरेका हुन । मार्च पासपछि कोणसभामा परिणत भएको सभामा बोल्दै नेपाल बार एसोसिएसनका अधयक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु न्यायको खोजीमा सर्बोच्चदेखि बालुवाटारसम्म पैदलै हिडेर आएको बताउनुभयो । उहाँले कालोकोटधारी कानुन व्यवसायी न्यायपालिकाको पहरेदार मात्र नभइ न्यायका लागि ढोका ढकढक्याउने व्यक्ति पनि भएको बताउनुभयो । श्रेष्ठले सर्बोच्च अदालत अहिले प्रधानन्यायाधीश बिहिन रहेको र जबरा प्रधानन्यायाधीश नभएको तर्क गर्नुभयो । आफूहरु भ्रष्टाचारमुक्त न्यायापालिकाको खोजीमा रहेको श्रेष्ठको भनाई छ । सर्बोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायपालिका भित्रको विकृति विसंगतिलाई टुलुटुलु हेर्न नसकिने बताउनुभयो । उहाँले न्यायािसलका भित्रको विकृति हटाउन प्रधान्यायाधीशको राजिनामा एक मात्र विकल्प भएको धारणा राख्नुभयो । शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सर्बोच्च अदालतमा फर्केर न्यायसम्पादन गर्ने जिम्मेवारी समाप्ती भइसकेको जिकिर गर्नुभयो । नेपाल बार एसोसिएसनको अगुवाईमा भएको मार्च पासमा नागरिक समाजका अगुवाका साथै विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।









































