काठमाडौं, 25 नवम्बर 2021
काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जितेका हुन । धनगढीका प्रदिप साउदले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राईले स्वर्ण भिडन्त पक्का गरे । तेश्रो स्थानका लागि धनगढीका नवीन ऐर र ललितपुरका दिरन राईबीच खेल हुने छ । ६०.५–६५ केजीमा धनगढीका रोशन देउवा सेमिफाइनलमा पुगेका छन् । टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतका १ सय ५० खेलाडीको सहभागिता रहेको छ ।









































