काठमाडौं, 1 दिसम्बर 2021
अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल मोबाइल वितरक संघको दोश्रो महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर मुलुकको बिकास गर्नुपर्ने बताउनुभएको हो । उहाले समयमा नै बजेट खर्च नहुने अवस्था लगाएतका धेरै समस्याहरुलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि सुधार गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै अर्थमन्त्री शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै आवश्यक परे सरकारले कर छुटको व्यवस्था गर्ने बताउनुभयो । अवैध रूपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागू हुने एमडिएमएसलाई तत्काल लागू गर्न निर्देशन दिएको उहाले जानकारी दिनुभयो ।कार्यक्रममा व्यवसायीहरुले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागू गर्नुपर्ने धारणा राखेका थिए ।









































