काठमाडौं, 1 दिसम्बर 2021
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु भएको छ । अधिवेशनको पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीले उद्घाटन गर्नुभयो । उद्घाटनमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु सहभागी भएका थिए । तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ । कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ । अध्यक्षका लागि कमल थापा र नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गर्नुभएको छ । लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्नुभएको छ । अर्का अध्यक्ष पशुपतिशम्शेरले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताउनुभएको छ ।









































