4 दिसम्बर 2021
सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण अव चितवनबाट पनि हुने भएको छ । शनिबार यातायात व्यवस्था सेवा कार्यालयले चितवनमा सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शुभारम्भ गर्नुभएको हो । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र नवीकरण गरिएको सवारी चालक अनुमतिपत्र हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । उहाँले हाल स्मार्ट लाइसेन्स वितरण गर्न थालिएको र छिट्टै पुराना सवारी चालक अनुमतिपत्रको पनि नवीकरण गरिने बताउनुभयो । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताउनुभयो । चितवनमा विसं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालय स्थापना भएको थियो । २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भइसकेको कार्यालयले जनाएको छ ।









































