ललितपुर, 17 दिसम्बर 2021
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पर्यटक आकर्षित गर्न ललितपुर महानगरले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ औं स्थापना दिवस’ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उहाले महानगरपालिकामा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो । ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने उहाको भनाई छ । उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताउनुभयो । महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराउनुभयो ।कार्यक्रममा महानगरपालिकामा २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै वडाका एक–एक परिवारलाई रु एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई रु २० लाख प्रदान गरिएको थियो









































