काठमाडौं, 17 दिसम्बर 2021
अर्थविद्हरुले आर्थिक गतिविधि बढेकै बेला अर्थतन्त्रका सूचक खस्किएको भन्दै समस्याको पहिचान गर्न सुझाव दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले समस्या पहिचान गरेर प्राथमिकताका आधारमा समाधान खोज्न पनि सुझाव दिएका छन् । बैठकमा अर्थविद् चन्द्रमणी अधिकारीले नेपाल आर्थिक, सामाजिक हिसाबले अन्तर्राष्ट्रिय परिवेशसँग जोडिएको र विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमा समस्या देखिदा नेपालमा पनि समस्या देखिएको बताउनुभयो । उहाले वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि बिभिन्न क्षेत्रको प्राथमीकरण गर्नुपर्ने धारणा राख्नुभयो । अनौपचारिक तरिकाले भएको मूल्यवृद्धिको प्रभाव आम जनतामा परेको उहाको भनाई छ । त्यस्तै बैठकमा अर्थविद् डिल्लीराज खनालले बैंकिङ क्षेत्रको लगानी बढ्दा उत्पादनमा बढ्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको जिकिर गर्नुभयो । खनालले पुँजीगत खर्च मासिक १० प्रतिशत गर्ने सरकारको नीति पनि विरोधाभासपूर्ण रहेको धारणा राख्नुभयो ।कार्यक्रममा अन्य अर्थविद्हरुले रेमिट्यान्स अर्थतन्त्रको बाधक भएको र मानव पुँजी नै बाहिर पठाउदा समस्या सिर्जना भएको धारणा राखेका थिए ।









































