काठमाडौं, 17 दिसम्बर 2021
सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिशमा पूर्णप्रसाद पौडेललगायत २९ जनालाई रु २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तै सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (पहिलो संशोधन) गठन आदेश, २०७८ स्वीकृत गरेको छ । बैठकले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । बैठकले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र बलको ५८आँ स्थापना दिवस कार्यक्रममा भाग लिन स्वीकृति दिएको छ । बैठकले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति पनि गठन गरिएको छ । नेपाली सेनाका सहायकरथी डा अरुणकुमार न्यौपानेलाई उपरथीमा बढुवा गरिएको छ । त्यस्तै बैठकले लोकसेवा आयोगबाट सिफारिश भई आएका डा प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय गरेको छ ।









































