काठमाडौं, 17 दिसम्बर 2021
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजि पत्रका सम्मेलनमा उहाले माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने बताउनुभएको हो । उहाले अहिले पार्टी सुदृढिकरणको अभियानमा अघि बढेको र एमाले प्रवेश गर्नेको लहर चलेको दावि गर्नुभयो । अहिले गठबन्धन एकातिर र सिंगो एमाले अर्कोतिर विभाजित रहेपनि जनताले विश्वास गर्ने भएकाले बलियो शक्तिको एकमात्र विकल्प एमाले भएको बताउनुभयो । त्यस्तै पोखरेलले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसदमा राखेर सदन चल्न नसक्ने स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटाले कि गल्ति सच्याउनुपर्ने कि राजीनामा दिनुपर्ने भन्दै त्यो नभएसम्म एमालेले गर्दै आएको संसदको अवरोध नहट्ने जिकिर गर्नुभयो । उहाले पार्टीका नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको बताउनुभयो । उहाले पार्टी अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी लिन तयार भएमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा एमालेले हालैसम्पन्न केन्द्रीय कमिटीका निर्णयहरु सार्वजनिक गरेको थियो । एमालेको केन्द्रीय कमिटी बैठक मंसिर २५ र २६ गते भक्तपुरमा बसेको थियो ।









































