काठमाडौं, 20 दिसम्बर 2021
प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्णमात्रामा खोप दिएर जनतालाई कोरोनाबिरुद्ध सुरक्षित बनाउने अभियानमा सबै सक्रियरुपमा लाग्न आग्रह गर्नुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँग सोमबार सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको भन्दै सक्रियरुपमा लाग्न आग्रह गर्नुभएको हो। कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको उहाको भनाई छ । उहाँले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको भएपनि खोप अभियानलाई प्रभावकारी बनाउन सवै पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । चैतसम्म सबै नेपालीलाई खोप दिने सरकारको लक्ष्य रहेको र पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्नुपर्ने छलफलको निष्कर्ष रहेको स्वास्थ्य मन्त्री बिरोध खतिवडाले बताउनुभयो । मन्त्री खतिवडाले कोरोनाको जोखिमलाई हेरेर सरकारले आवश्यक नीति र नियम तर्जुमा गर्ने जानकारी दिनुभयो । त्यस्तै छलफलका क्रममा प्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको मन्त्री खतिवडाले बताउनुभयो ।









































