काठमाडौं, 21 दिसम्बर 2021
युवा स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाले आफुलाई युवा तथा खेलकुद मन्त्रालयले काजमा बोलाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि आफु कोषमा फर्किएको र मंगलबार मन्त्रालयबाट काजमा खटाइएको पत्र प्राप्त भएको उहाले बताउनुभयो । यसअघि कार्तिक ९ गतेको मन्त्रिपरिषद् बैठकले रोकालाई बर्खास्त गरेको थियो । आफूलाई कानुनविपरीत हटाइएको भन्दै रोका ११ कात्तिकमा अदालत पुग्नुभएको थियो । उहाको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अल्पकालीन आन्तरिम आदेश जारी गरेको थियो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रोकाले आफुलाई राजनीतिक पूवाग्रहका आधारमा काजमा तानिएको आरोप लगाउनुभयो । यसअघि आफुलाई राजनीतिक पूवाग्रहका आधारमा पदबाट हटाएपनि अदालतले न्याय गरेपछि आफु काममा फर्किएको उहाले बताउनुभयो । उहाले कोषको नियमावलीलाई प्रमुखलाई काजमा लैजाने व्यवस्था नरहेको तर्क गर्नुभयो । रोकालाई अघिल्लो सरकारले १५ भदौ ०७७ मा नियुक्त गरेको थियो ।









































