काठमाडौं, 23 दिसम्बर 2021
वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । बिहीबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडौ महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानी पोखरीमा पानी राख्न निकै समस्या भएपछि बिभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य सफलताका साथ सम्पन्न गरेको बताउनुभयो । उहाले पुरात्वात्कि ढंगले रानी पोखरी र बालगोपालेश्वरलाई पुननिर्माण गरिएको उल्लेख गर्नुभयो । त्यस्तै नेपालको सम्पदाको पुननिर्माणको प्रतिकको रुपमा रानीपोखरी निर्माण गरिएको जानकारी दिनुभयो । उहाले महानगरको नासो पुननिर्माणपछि महानगरलाई नै हस्तान्तरण गरिएको बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले रानीपोखरी पुननिर्माणमा केहि बिवाद भएपनि अहिले निकै उत्कृष्ठ ढंगले पुननिर्माण गरिएको बताउनुभयो । उहाले ऐतिहासिक सम्पदाको उचित हेरचाह र जगेर्ना गर्न महानगर प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । आफ्नो समयावधी सकिनै लाग्दा प्राधिकरणले महानगरलाई रानीपोखरी हस्तान्तरण गरेको हो ।









































