काठमाडौं, 27 दिसम्बर 2021
नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। काठमाडौंको प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ । समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको माओवादीले जनाएको छ । प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहनुभएको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ । सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।









































