काठमाडौं, 12 फरवरी 2022
काठमाडौंको साखूँस्थीत सालीनदीमा माधवनारायण मेलामा भक्तजनको घुइँचो लागेको छ । हिन्दु धर्मावलम्बीका लागि विशेष रहेको यस मेला फागुन ४ गते समापन हुने छ । मेला सकिनु अघिको अन्तिम शनिबार भएको कारण मेलामा भक्तजनहरुको भिड लागेको हो । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक स्वस्थानी व्रत एवम् माघस्नान गरिन्छ । एक महिनासम्म बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ ।









































