काठमाडौं, 15 फरवरी 2022
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विनियोजित बजेट अत्यन्त न्यून भएकाले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार गर्न समस्या भएको बताउनुभएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको बताउनुभएको हो । उहाँले खेलकुदलाई अनउत्पादक क्षेत्र भन्ने राज्यको बुझाई रहेको विषय बजेट विनियोजनबाटै छर्लङ रहेकोे आफूले अनुभव गरेको बताउनुभयो । मन्त्री गहतराजले राष्ट्रिय बजेटको १.१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको जानकारी दिनुभयो । विनियोजित बजेटबाट खेलाडीको मनोबल उच्च राख्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन निकै चुनौती रहेको उल्लेख गर्दै उहाँले युवालाई सशक्तीकरणका लागि आधार तयार गर्न यो बजेटले धान्छ कि धान्दैन भनी आश्चर्य प्रकट गर्नुभयो । बैठकमा सदस्यले प्राप्त बजेटकै पुँजीगत खर्च अन्त्यन्त न्यून रहेको चिन्ताको विषय भएको तथा खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकतामा राखेर गुणात्मक नतिजा हासिल गर्नेतर्फ मन्त्रालयको जोडबल आवश्यक रहेको सुझाव दिएका थिए । राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३७ खेल विधाका लागि मुलुकभरबाट २१ हजार खेलाडीका लागि आधारभूत खेलकुद प्रशिक्षण प्रदान भइरहेको खेलकुद मन्त्रालयले जनाएको छ ।









































