दिल्ली, 21 फरवरी 2022
भारतीय रुपैयाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । भारतीय सुरक्षाकर्मीले बिसीसँग ६ लाख ४० हजार भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको बताएको छ । भारतको उत्तरप्रदेशमा निर्वाचन रहेकाले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । स्रोतका अनुसार, बिसीले आफुले ल्याएको रकमको स्रोतबारे प्रहरीलाई जानकारी दिएपछि जबर्जस्ती प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । ‘अनाहक नियन्त्रणमा लिइएको देखिन्छ’, एक भारतीय पत्रकारले भने ।नेपालबाट भारतमा मानिसहरु श्रमका लागि जाने गरेका छन् । उनीहरु बर्षौसम्म त्यही काम गर्ने र नगद लिएर फर्कने गरेका छन् । एउटै व्यक्तिले अन्य साथीभाईको पैसा समेत फर्कदा लिएर आउने गरेका छन् । भारतमा नेपालीले बैंक खाता खोल्न निकै अप्ठ्यारो हुने, बैंकिङ्ग प्रणालीबारे थाहा नै नहुने र निरक्षर तथा सामान्य पढेलेखेका नेपालीले यसरी पैसा लिएर आउँदा फसाउने कार्यले सीमावर्ती नेपालीले असन्तुष्टि व्यक्त गरेका छन् ।









































