दिल्ली, 4 मार्च 2022
युक्रेनको आणविक पावर प्लान्ट (ऊर्जा केन्द्र) मा लागेको आगो निभाइएको छ । जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो युक्रेनको आपत्कालीन सेवाले निभाएइको पुष्टि गरेको अंतराष्ट्रीय संचार माध्यमले जनाएको छ । आज शुक्रवार बिहान ६ बजेर २० मिनेटमा (स्थानीय समयअनुसार) आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जानकारी दिएको छ । आगो एक घण्टा जतिमा निभाइएको र ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको बताइएको छ । त्यस आगलागीमा कसैलाई केही नभएको आपत्काली सेवाले सामाजिक सञ्जालमार्फत जनाएको छ । रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो यस परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । आज बिहान रुसी आक्रमणका कारण यस केन्द्रको पाँच तले भवनमा आगो लागेको युक्रेनले जनाएको थियो । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउँदै विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ ।









































