काठमाडौं, 5 मार्च 2022
नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ । सुखानी शहीद स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुखानी पुगेर शहीदको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने झापा विद्रोहसँगै हत्या गरिएकालाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गरेको थियो ।









































