काठमाडौं, 10 मार्च 2022
संखुवासभामा बस दुर्घटना भएको छ। बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको हो । दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका प्रहरीले जनाएको छ। डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको जनाए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उनले भने । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले जनाएका छन् ।









































