काठमाडौं, 11 मार्च 2022
बिभिन्न दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा खर्च गर्न पाउने अधिकतम सीमा बिषयमा निर्वाचन आयोगसंग प्रश्न उठाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा क्रममा उनीहरुले निर्वाचनका क्रममा हुने खर्चको सीमा बढाउनुपर्ने र खर्चको नियमनका बिषयमा प्रश्न गरेका हुन् । त्यस्तै साना दलहरुका प्रतिनिधिहरुले निर्वाचनका लागि माग गरिएको चूनाव चिन्ह पाउनुपर्ने बताएका थिए । साथै उनीहरुले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलले आफुले प्रस्ताव गरेको चूनाव चिन्ह पाउनुपर्ने माग गरेको र कानूनमा भएको व्यवस्था अनुसार नै अघि बढने जानकारी गराएको उहाले बताउनुभयो । निर्वाचनलाई मितव्ययी बनाउनका लागि चूनाव खर्च खटाउने प्रस्ताव गरेको र दलहरुको सकारात्मक सुझाव प्राप्त भएको पौडेलले बताउनुभयो ।छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रवन्ध हुनुपर्ने बताउनुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्युरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको उहाको भनाई छ । त्यस्तै लोसपाका नेता केशव झाले मतदानको अघिल्लो दिनसम्म १८ बर्ष पुरा भएका व्यक्तिले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सकारात्मक रहेको बताउनुभयो । उहाले मतपत्रको रंग हरियो राख्नुको कारण आयोगले जानकारी गराएपछि विवाद नभएको उल्लेख गर्नुभयो । त्यस्तै राप्रपाका नेता भुवन पाठकले निर्वाचनमा आफुहरुले दर्ता गराएको चूनाव चिन्ह नै पाउनुपर्ने बताउनुभयो । उहाले निर्वाचनमा भाग लिने कुनै पनि दललाई भेदभाव गर्न नहुने जिकिर गर्नुभयो । त्यस्तै एमालेका प्रतिनिधिहरुले मतपत्रमा चुनाव चिह्न हरियो बनाइएको भन्दै आयोगको ध्याकर्षण गराएको थियो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तीव्र रुपमा तयारी भइरहेको पनि जनाएको छ ।









































