काठमाडौं, 23 मार्च 2022
नेपालमा बार्षिक रुपमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा सञ्जय कुमार ठाकुरले नयाँ क्षयरोगका बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिने गरेको र १६ हजार जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो । उहाले राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४÷७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको बताउनुभयो । गत आर्थिक वर्ष २०७७÷७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरु मात्र उपचारको क्रममा रहेको र उपचार सफलता दर ७३ प्रतिशत रहेको उहाको भनाई छ । उहाले औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २२ सय रहेको जानकारी दिनुभयो । केन्द्रले ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित सरकारले मार्च २४ अर्थात् बिहीबार विश्व क्षयरोग दिवस मनाउने जानकारी दिएको छ ।