काठमाडौं, 28 मार्च 2022
श्रम मन्त्रालयले बेलायत, माल्दिभ्स, सिसेल्ससंग श्रम सम्झौताको लागि तीव्ररुपमा छलफल अगाडि बढाइएको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नयाँ गन्तव्य मुलुकका रुपमा बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायल (निर्माण श्रमिकको लागि) सँग श्रम सम्झौताको लागि श्रम वार्ताहरु तीव्ररुपमा अगाडि बढाइएको जानकारी दिनुभयो । अहिले १ सय ७८ मुलुकमा नेपालीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउँछन् भने १ सय १० मुलुकमा संस्थागत रुपमा श्रम स्वीकृति लिएर जान पाइने मन्त्रालयले जनाएको छ । त्यस्तै एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । त्यस्तै मन्त्रालयले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका श्रमिककका परिवार र अंगभंग भएकालाई दिइने क्षतिपूर्तिसमबन्धी सेवा पनि वैदेशिक रोजगारको मुख्य अनलाइन प्रणालीमा आवद्ध गरेको छ । यसले पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने मन्त्री श्रेष्ठले बताउनुभयो । उहाले आगामी जुनभित्र कतारसँग नयाँ श्रम समझदारीको हस्ताक्षर गर्ने सहमति भएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले ५ बर्षे रणनीतिक कार्ययोजना तयार गरी स्वीकृतिको चरणमा पुगेको बताउनुभयो । मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा जानेहरुको शुल्क निर्धारणका बिषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो । कानुनी प्रावधान विपरित रोजगारीको प्रलोभनमा नेपालीलाई विदेशमा लगि अलपत्र पार्ने व्यक्ति तथा कम्पनीलाई पीडितको उद्धार गर्न बाध्य पारिएको र उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको मन्त्री श्रेष्ठले दावी गर्नुभयो । उहाले नेपालको आप्रवास कुटनीतिलाई थप व्यवस्थित बनाउन विभिन्न श्रम गन्तव्य मुलुकमा अवैतनिक श्रम सद्भाव दूत नियुक्ति गर्न पहल गर्ने बतायनुभयो । त्यस्तै अनौपचारिक श्रम क्षेत्रलाई औपचारिक बनाउँदै लैजाने पनि उहाको भनाई छ ।









































