दिल्ली, 29 मार्च 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि गर्ने तीनदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत भ्रमण तालिका सार्वजनिक गरेका हुन् । तालिकाअनुसार देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने पनि कार्यक्रम छ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग पनि उनको भेटवार्ता हुनेछ । मोदीले देउवाको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवाले आइतबार काठमाडौं फर्कनुअघि बनारसको पनि भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको निमन्त्रणामा भ्रमण गर्न लागेका हुन् । भ्रमणमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवा पनि सँगै हुनेछिन् । देउवाको टोलीमा परराष्ट्रमन्त्री नारायण खड्काका साथै अन्य मन्त्री, सचिवलगायत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोली कति सदस्यीय हुने, को–को हुने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए । देउवाको भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोहि अवसरमा जयनगर–जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने भएका छन् । १७ महिनादेखि थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको छैन । अहिले ‘ड्राइ रन’का रुपमा रेल चलाइएको छ । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।









































